Wednesday, June 08, 2011

तसलिमा नसरिन

बंगलादेशी लेखक तसलिमा नसरिन कहाँ छिन्? जहाँ भए पनि उनी अत्यन्त संकटपूर्ण स्थितिमा छिन्। पोखरेली स्रष्टा सरुभक्तले भनेजस्तै 'नरोजेको सुखभन्दा रोजेको दुःख प्रिय' मान्दा उनी यो स्थिति भोग्न बाध्य भइन्।
तसलिमा मृत्युकै मूल्यमा पनि विचार र आदर्शमा सम्झौता नगर्ने लेखक हुन्। गरेकी भए उनको जीवनमा चरम सुखसयल हुन्थ्यो। चिकित्सकको जागिर, गाडी, बंगला, छोराछोरी, लोग्नेको माया सबै हुन्थे। अहिले उनीसँग कोही छैन, केही छैन। छन् त केवल अभाव, असुरक्षा, थातबासको बेठेगान। तसलिमाले स्त्री स्वाधीनताका पक्षमा निर्भिक भएर कलम चलाइन्। उनको धारिलो भाषाले कथित धर्मको जञ्जिरमाथि बज्र प्रहार गर्‍यो र उनको टाउकाको मूल्य तोकियो। बंगालादेश सरकारले उनका किताब लज्जा, मेरो बाल्यकाल, जंगली हावा, द्विखण्डित, सारा अन्धकारमाथि प्रतिबन्ध लगायो र माफी माग्न भन्यो। नमागेपछि देश निकाला गर्‍यो। भारतको पश्चिम बंगालबाट पनि उनलाई निर्वासित गरियो। त्यसअघि दिल्ली र कोलकातामा सात महिनासम्म नजरबन्द राखियो। त्यसपछि असुरक्षाको तरबार गर्धनमा झुन्ड्याएर उनी विभिन्न देशमा शरण लिँदै, निकालिँदै भौतारिइरहेकी छन्। वृद्ध बाबुआमाको अन्तिम अवस्थामा पनि उनी स्वदेश फर्कन पाइनन्।

सायद उनी न्यूयोर्कमा छिन्। त्यहीँबाट भारतीय दैनिक जनसत्तामा एउटा लेख लेखिन् जसमा उनले आफूलाई सलमान रुस्दी र एमएफ हुसेनको नामसँग जोडिएकोमा आपत्ति जनाएकी छन्। लेखेबापत रुस्दी र उनका नाममा कट्टरपन्थीले 'फतवा' जारी गर्नुबाहेक उनीहरुबीच कुनै समानता छैन। फतवापछि रुस्दीले कट्टरपन्थीसँग माफी मागे र मुसलमान रहिरहने वाचा गरे। तसलिमाले माफी मागिनन्। मुस्लिम परिवारमा हुर्केर पनि आफूलाई नास्तिक घोषणा गरिन्। उँचो शिर बनाएर धर्मको नाममा नारीमाथि हुने अत्याचारविरुद्ध निर्धक्क लेखिरहिन्। स्त्री यौन स्वाधीनताको सबाल उठाएर उनले कट्टरपन्थीको 'बाह्र' बजाइदिइन्। खासगरी उनका पाँच भागसम्मको आत्मकथा र वैचारिक लेख अत्यन्त प्रभावशाली छन्। ती विचार, आस्था र आत्मस्वीकृतिका अनुपम उदाहरण हुन्। 'जंगली हावा'मा उनले किशोरवयबारे खुलेर लेखेकी छन्। त्यसमा कवि रुद्रसँगको प्रेम, कागजी बिहे, पहिलो संसर्ग, परिवारमा आमाको दयनीय स्थिति, भिरिंगी सल्केको रुद्रसँग सम्बन्धविच्छेद आदिबारे प्रभावशाली भाषामा लेखेकी छन्। नेपालीमा त्यसको आंशिक अनुवाद विकास बस्नेतले गरेका छन् जुन बजारमा 'विद्रोह' शीर्षकमा प्रकाशित छ।

रुस्दी र आफूबीच तुलना हुन नसक्ने तर्क गर्दै जनसत्तामा उनले लेखिन्, 'इरानले रुस्दीविरुद्ध फतवा जारी गर्‍यो तर उनी त्यहाँ कहिल्यै बसेनन्। मैले भने आफ्नै देशमा सरकार र कट्टरपन्थीको अत्याचार एक्लै सामना गरिरहेँ।' तसलिमाविरुद्ध बंगलादेशमा तीन र भारतमा पाँच फतवा जारी गरियो र सबैमा उनको टाउकाको मूल्य तोकियो। रुस्दीको एउटै किताब प्रतिबन्धित भयो, द सटानिक भर्सेज। इस्लाम धर्मको निन्दा गरे पनि रुस्दी धर्मनिरपेक्षतावादी कुनै आन्दोलनमा सक्रिय भएनन्। तसलिमाको भने ध्येय नै त्यही रह्यो। वृद्ध उमेरका रुस्दी बारम्बार नवयौवनालाई प्रेमजालमा फसाउँछन्। तसलिमा दृढ विचारकै कारण लामो समयदेखि पुरुष साथीबिना जीवन बिताइरहेकी छन्। फेरि पनि पुरुषप्रधान समाजले उनैलाई 'बिग्रेकी' भनिरहेको छ। 'लज्जा' छापिएपछि बंगलादेशमा उनले नजरबन्दमा रहनुपर्‍यो। त्यस क्रममा उनको पक्षमा खुला पत्र लेखेर आन्दोलन चलाउनेमा रुस्दी पनि थिए। फतवाको डरले उनले माफी माग्नु कायरता हो भन्ने तसलिमाको अन्तवार्ता जर्मनीको अखबारमा छापिएपछि रुस्दी आगो भए।

भारतका विख्यात चित्रकार मकबुल फिदा हुसेनसँग आफ्नो तुलना गरिएकामा पनि उनको असहमति छ। सरस्वतीको नांगो चित्र बनाएर उनले हिन्दू आस्थामाथि प्रहार गरे। हिन्दूहरूले उनको चित्र नष्ट गरिदिए र ज्यान मार्ने धम्की दिए। हुसेन देश छाड्न बाध्य भए। चित्रमा आफ्नो विचार उतार्न पाउनु हुसेनको स्वतन्त्रता हो। तर, आफ्ना कुनै पनि चित्रमा उनले हिन्दूबाहेक इस्लाम धर्मको विसंगतिमाथि व्यंग्य गरेनन्। उनलाई इस्लामप्रति अगाध आस्था छ। एउटा धर्ममाथि आस्था राख्नेले अर्को धर्मको धज्जी उडाउनु अनैतिक हो। 'सरस्वती र लक्ष्मीलाई जस्तै उनी मोहम्मदलाई नांगा चित्रण गर्न सक्लान्? पक्का छ, सक्दैनन्,' तसलिमाले लेखेकी छन्।

रुस्दी र हुसेन दुवै आफ्नो तुलनामा महान् स्रष्टा भएको तसलिमाले स्वीकारेकी छन्। 'दुवैको रचनाप्रति असीम श्रद्धा राख्दै म भन्छु, यी दुईबीच कोष्ठकमा मलाई राख्नु उचित छैन', भन्छिन्, 'जसरी बेठेगान, अनिश्चय, असुरक्षा र अभावमा म संघर्ष गरिरहेकी छु, त्यसमा कसैको साथ छ भने ती मेरा आदर्श र विश्वास हुन्। कसैले मेरा यी कुरा देख्दैनन् भने जतिसुकै महान् स्रष्टा भए पनि उनी मेरो विचार र आदर्शसामु केही होइनन् ।' रिगोबेर्ता मेञ्जु, सिरिन एवादीजस्तै तसलिमा नोबेल शान्ति पुरस्कारकी हकदार हुन्।
              nagarik news ko sahayog ma 

No comments:

Post a Comment