Tuesday, May 31, 2011

चुप बसे पनि


शरीरले बोल्छतपाईंको मुख बन्द छ । एक शब्द पनि निस्किरहेको छैन । तैपनि कसैले 'तपाईं कस्तो रिसाउनुभएको भन्यो भने मान्नुहुन्छ ?
मान्न गाह्रै पर्छ तर यो ठट्ठा होइन । रिसाएको मात्र होइन, खुसी भएको, दिक्क मानेको, अशान्त रहेको जस्ता स्थिति पनि कसैले नबोले पनि चाल पाउन सकिन्छ । मानिस - चाहे पुरुष होस् वा महिला - बोल्नलाई मुख खोल्नैपर्छ भन्ने छैन । नेपालीमा उखान छ- 'आँ गर्दा अन्सार बुझिन्छ' वा 'आँ गर्दा अलङ्कार बुझिन्छ' । त्यो उखान पनि यहाँ लागू हुँदैन । यहाँ अन्सार बुझाउन आँ पनि गर्न पर्दैन । शरीरको हाउभाउले नै सबै काम गरिरहेको हुन्छ ।
हो, यो हो शरीर भाषा अर्थात् 'बडी ल्याङ्ग्वेज' । चालै नपाई मानिसले आफूभित्रको भावनालाई शरीरमार्फत् अरूलाई सङ्केत गरिरहेको हुन्छ । शब्दको प्रयोग नगरी गरिने सञ्चार 'बडी ल्याङ्ग्वेज' हो । यसमा शरीरको हाउभाउ, मुद्रा, मुखाकृति, आँखाको चाल आदि समावेश हुन्छन् । मानिसहरूले अवचेतन स्थितिमा यस्ता सङ्केतहरू पठाउने तथा व्याख्या गर्ने गर्दछन् । भन्नेहरू त कतिसम्म पनि भन्छन् भने मानवीय संवादको करिब ९० प्रतिशतसम्मको संवाद वा सञ्चार त यस्तै 'बडी ल्याङ्ग्वेज' को माध्यमबाट हुन्छ ।
जान्ने हो भने 'बडी ल्याङ्ग्वेज' ले मानिसको प्रवृत्ति वा मानसिक स्थिति थाहा पाउन निकै नै सघाउँछ । कुनै मानिस क्रोधित, आक्रामक, न्यास्रो, आराम कुन अवस्थामा छ भन्ने जस्ता कुरा 'बडी ल्याङ्ग्वेज' हेरेरै चाल पाउन सकिन्छ ।
बडी ल्याङ्ग्वेज धेरैका दृष्टिमा एउटा खराब कुरो पनि हो । किनभने, यही बडी ल्याङ्ग्वेजकै कारण कुनै निवेदक नोकरीको अन्तर्वार्तामा चित खान सक्छ । अन्तर्वार्ता क्रममा कुनै व्यक्ति शरीर विज्ञानका विज्ञ पनि हुनसक्छन् र त्यस्तो विज्ञले उम्मेदवारको 'शरीर भाषा' बुझेर उम्मेदवारलाई अस्वीकृत गर्न पनि सक्छन् । वास्तवमा बडी ल्याङ्ग्वेज बुझ्नु पनि एउटा ठूलो कला हो र तालिम तथा अभ्यासबाट यस्तो कलामा महारथ हासिल गर्न सकिन्छ ।
नोकरीको अन्तर्वार्ता क्रममा मात्र होइन, प्रहरीले अपराध अनुसन्धानका क्रममा अभियुक्त तथा शङ्कास्पद व्यक्तिहरू बडी ल्याङ्ग्वेजको अध्ययन तथा व्याख्या गर्ने गर्दछन् । यसबाट उनीहरूलाई तथ्य पत्ता लगाउन सघाउ पुग्दछ । विभिन्न परामर्शदाता, मनोविज्ञानविद् तथा मनोरोग चिकित्सकहरू पनि शरीर भाषाका मामिलामा खप्पिस मानिन्छन् । उनीहरू परामर्शका लागि आउने ग्राहक वा उपचारका लागि आउने मनोरोगीको बडी ल्याङ्ग्वेजको अध्ययन गरेर कस्तो सल्लाह दिने वा उपचार गर्ने निष्कर्षमा पुग्दछन् । उपचारका लागि आउने रोगीको बडी ल्याङ्ग्वेजको राम्रो व्याख्या गर्न सक्ने मनोविज्ञानविद् वा मनोरोग चिकित्सकले अरूको तुलनामा सही उपचार सुझाउन सक्छ ।
बडी ल्याङ्ग्वेजमा सबैभन्दा आधारभूत तथा शक्तिशाली सङ्केत हो, आˆनो छातीमा दुई हात बाँधेर बस्नु । यसबाट हात बाँधेर बसेको व्यक्तिले आफू र अरूबीच एक प्रकारको अवरोध तेस्र्याएको वा दूरी बढाएको सङ्केत गर्दछ । यसले एक प्रकारको असहमतितर्फ पनि सङ्केत गर्दछ । जाडोको समयमा यसरी हात बाँधेर बस्दा भना यस्तो अर्थ लाग्दैन । जाडोमा हात बाँधेर बस्नेले सामान्यतः हातहरू रगड्ने वा टँसाउने गर्दछ ।
आँखाको चाल शरीर भाषाको अर्को महìवपूर्ण सङ्केत हो । लगातार आँखा जुधाइरहने मानिसले सकारात्मक दृष्टिले सोचिरहेको छ भन्ने जनाउँछ । अर्कोतिर कुनै वक्ताले भाषण गरिरहँदा सुन्ने व्यक्तिले एकटक हेरिरहन्छ भने त्यसले सङ्केत गर्ने कुरो हो, वक्ताको भनाइप्रति श्रोताको अविश्वास । हामीले धेरै अगाडिदेखि सुन्दै पनि आएका छौं, झुटो बोल्नेले आँखामा आँखा जुधाएर बोल्न सक्दैन ।
यस्ता थुप्रै सङ्केत छन्, जसले मानिसभित्रको भावनालाई अवचेतन रूपमा प्रस्तुत गर्दछ । यहाँ त्यस्ता केही सङ्केत दिइएको छ । यसले निश्चय नै मानिसको मनको भाव बुझ्न तपाईंलाई सघाउने छ । के तपाईंले आˆना मित्र वा परिचित वा अपरिचित व्यक्तिका बडी ल्याङ्ग्वेजमा ध्यान दिने गर्नुभएको छ ? ध्यान दिने गर्नुभएको छैन भने अब ध्यान दिने गर्नुस् र उनीहरूको मनको भाव थाहा पाउने कोसिस गर्नुस् Û
अनि कतै तपाईंले पनि यस्तो सङ्केत त दिइरहनु भएको छैन ? यसमा पनि ध्यान दिन नबिर्सनुस है 
                                                                                           sours ; युवामञ्च जेठ, २०६८
 

No comments:

Post a Comment