इसापूर्व ३ सय वर्षअघिका महान् गि्रक दार्शनिक एरिस्टोटल विश्वविजेता अलेक्जेन्डरका गुरु थिए । सम्राट्का हैसियतमा अलेक्जेन्डर कडा मिजासका थिए । तर, त्यत्तिकै अनुशासित पनि । उनी एक समय हालको भारतसम्म आइपुगेको साम्राज्यका सम्राट् थिए । उनका बारेमा बनेका दर्जनौँ प्रेरक कथामध्ये उनको गुरुभक्तिको कथा पनि उत्तिकै अनुपम छ । उनी गुरु एरिस्टोटललाई अत्यन्त सम्मान र आदर गर्थे । गुरुको आदेश सदैव शिरोपर गर्ने अलेक्जेन्डर गुरुको आदेशविपरीत केही गर्दैनथे । एरिस्टोटल पनि उनीप्रति विशेष स्नेहभाव राख्थे ।
एकदिन गुरु-शिष्य पैदल कतै जाँदै थिए । कुराकानीमा मग्न हुँदै गइरहेका उनीहरू घना जंगलको बीचमा पुगे । बाटो साँघुरो थियो । दायाँ-बायाँ भिर थियो र अघिल्तिरपट्टि एउटा गहिरो खोला । खोला नतरी अगाडि जान सकिने कुनै बाटो थिएन । खोला कति गहिरो छ भन्ने पत्तो पनि थिएन । गहिराइ यकिन नगरी पस्दा दुर्घटना हुन सक्थ्यो । ज्यानै जान पनि सक्थ्यो ।
गुरु एरिस्टोटलको मनमा चेला अलेक्जेन्डरप्रति स्नेह भरियो । उनले आदेश गरे, 'बाबु अलेक्जेन्डर, म अगाडि जान्छु । तिमी मेरो पछिपछि आऊ । नाला कति गहिरो छ थाहा छैन, त्यसैले पहिले म यसको गहिराइ नाप्न चाहन्छु ।' तर, अलेक्जेन्डरको मनमा भने विपरीत विचार थियो ।
पहिलोपटक गुरुको आज्ञा उल्लंघन गर्ने संकल्प गरिसकेका अलेक्जेन्डर फटाफट अगाडि बढे र गुरुभन्दा पहिल्यै खोलामा प्रवेश गरे । गुरु एरिस्टोटल छक्क परे, तर उनले केही बोल्नुभन्दा अघि अलेक्जेन्डरले खोला तरिसकेका थिए । कहिल्यै गुरुआज्ञा उल्लंघन नगरेको शिष्यले आफ्नो आदेश लत्याएको देखेर एरिस्टोटलको चित्त दुख्यो । उनले सोधे, 'अलेक्जेन्डर, तिमीले मेरो आज्ञा किन मानेनौ ?'
अलेक्जेन्डरले विनम्रतापूर्वक जवाफ दिए, 'गुरुदेव, मलाई थाहा छ, निःसन्देह मैले गुरुआज्ञा उल्लंघन गर्ने धृष्टता गरेँ । यसका निम्ति मलाई जे सजाय दिनुहुन्छ म भोग्न तयार छु । म बाध्य थिएँ गुरुदेव !' एरिस्टोटलले केही शान्त हुँदै पुनः सोधे, 'तिमीलाई त्यस्तो के बाध्यता थियो ?' अलेक्जेन्डरले भने, 'गुरुदेव, खोलाको गहिराइ थाहा थिएन । गहिराइको ज्ञानविना खोलामा प्रवेश गर्दा दुर्घटना पनि हुन सक्थ्यो । कथंकदाचित हजुरको ज्यान तल-माथि परेको भए मैले मात्र होइन तमाम शिष्यले एक असल गुरु गुमाउने थिए । मैले त ज्यानै गुमाएको भए पनि के फरक पथ्र्यो र ? मजस्ता हजारौँ अलेक्जेन्डर हजुर आफैँ उत्पादन गर्न सक्नुहुन्थ्यो ।'
एरिस्टोटल अवाक् भए । उनको हृदयमा प्रेम र स्नेहको लहर उर्लियो । आफ्नो चेला गुणवान् मात्र होइन, ज्ञानीसमेत भएको आत्मबोधले उनी वशीभूत भए ।
नयापत्रिका बाट
No comments:
Post a Comment