Wednesday, January 06, 2016

मण्डलीमा गुटबन्दी

मण्डलीमा गुटबन्दी

हाम्रा मान्छेहरू मिल्न पनि के साह्रो सकेका! यिनीहरूलाई देखेर कतिलाई लाग्दो हो, तिनीहरूका आन्द्रा सँगै गाँसिएका छन् – छुट्नै नहुने। सङ्गतिमा ढिलो आएछन् भने एक जना मात्र हुँदैन, समूह नै हुन्छ। आराधना चल्दै गर्दा, एउटालाई चर्पी लागेछ भने हूल बाँधेर गुरुरु समूह नै निस्केर जानुपर्ने! आराधनामा बसेछन् नै भने पनि
उनीहरूको कारण अरूलाई गाह्रो–साह्रो के पर्छ मतलब हुँदैन। देख्नेलाई पो खसखस! कस्तो अप्राकृतिक र अस्वस्थजनक सम्बन्ध! यो पनि एउटा सरुवा रोग रहेछ। एउटा त्यस्तो समूह भएपछि अर्कोलाई पनि देखाउनकै लागि पनि आफ्नो सङ्गठन बनाउन रहर चढ्दोरहेछ। अनि बालबालिकादेखि बूढापाकासम्म त्यस्ता सङ्गठनहरू मण्डलीमा जम्छन्। मिल्नेहरू मिलेपछि अरूलाई ख्रीष्टको नाममा साथी सम्झने झिनो औपचारिकता कसले पूरा गरोस्? अचम्मको कुरो त, कुन्नि के नमिलेर हो, एक समय आन्द्रा गाँसिएकाहरू दुई तीन वर्ष नै नबोलेको पनि भेटियो जसमा बच्चाहरूदेखि ठूलाहरूसमेत पर्दछन्। अनि कहाँबाट सङ्गति हुन्छ त? सीमा नै तोडेर मिल्ने र फुट्नु परेपछि पनि सीमा नै मिच्ने! यसमा उनीहरूभन्दा हाम्रो सामाजिक संरचना नै दाेषाी छ।
         आफ्नो सुरक्षाकै लागि गुट र उपगुटहरू निर्माण हुँदछन्। मानिस जहिले पनि आफ्नो उपस्थितिलाई अरूले स्वीकार गरोस् भन्ने चाहन्छन्। आफूले चाहेको जस्तो सुरक्षाको अनुभूति गर्न नपाएपछि उसले आफूलाई स्वीकार गर्ने व्यक्तिको खोजी गर्छ। तिरस्कार गर्नेहरूको बीचमा उसलाई बुझ्ने साथी पाएपछि औधी नै खुलेर मिल्न थाल्दछन् र अरूलाई उति मान्यता दिनुपर्ने आवश्यकता देख्दैनन्। गुटबन्दीका विभिन्न आकार हुन्छन् जसमा व्यक्तिको तहदेखि ठूलो समूहसमेत पर्न सक्दछन्। अरूको तुलनामा नेपालीहरू सजिलैसँग फुट्न सक्दछन्। जातपात, महिला–पुरुष, धनी–गरीब, पठित–अपठित, शिक्षित–अशिक्षित, सुगम–दुर्गमजस्ता परम्परागत विभाजनका कारणहरू अझै कायम छन्। ख्रीष्टियानहरू पनि यस किसिमको विभाजनबाट पीडित छन्। मण्डलीमा भएका यी खोटहरूलाई मेटाउन सक्ने क्षमता ख्रीष्ट येशूको रगतमा छ तर हामीले मौका दिएका छैनौं। यस्तो लाग्छ कि साँचो सुसमाचारलाई यहाँ काम गर्न दिइएको छैन।
         पहिलो शताब्दीमा कोरिन्थ मण्डलीको समस्या पनि यस्तै नै थियो, जसकारण पावलले यसो भनेर हप्काएका थिए, “के ख्रीष्ट बाँडिनुभएको छ र” (१कोरिन्थी १:१३)? ‘बाँडिनुभएको’ शब्दले ‘ख्रीष्ट कसैको नीजि पेवा’ हुनुहुन्न भन्ने अर्थ दिन्छ। निश्चय नै उहाँ बाँडिनुभएको छैन। हामी बाँडिएकाहरूलाई जोड्नको लागि उहाँले आफ्नो शरीर तोड्नुभयो। लेखिएको छ, “जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन तिमीहरूको बोलावटसँग गाभिएको छ – एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ” (एफिसी ४:४–६)।       sourcs   http://ganeshtmg.blogspot.com/

No comments:

Post a Comment