Friday, August 31, 2018

नियत

सुसमाचार सुनाउनमा जोसिलो एक जना मासु पसलेले आफ्नो पसलमा आउने सबै ग्राहकलाई जोसको साथ सुसमाचार सुनाउँदोरहेछ। मासु काट्नअघि ढुङ्गमा मासु पसलेले प्राय स्वाँट्ठाऽऽऽ पारेर दाउ उध्याउने चलन छ। त्यो पसलेले पनि जोसको साथ स्वाँट्ठाऽऽऽऽ पारेर दाउ उध्याउँदै ग्राहकलाई भन्दोरहेछ, ‘के तपाईं स्वर्ग जान तयार हुनुहुन्छ?’ यही तरिकाबाट उसले धेरैलाई सुसमाचार सुनाएछ। एक दिन एउटा बच्चा पनि पसलमा मासु किन्न आयो। दाउ उध्याउँदै खुसीको मुहार लिएर उसलाई पनि सोधियो, ‘के तिमी स्वर्ग जान तयार छौ?’ दाउले छप्काउने भो भनेर त्यो बच्चा पसलबाट चिच्याएर भाग्यो। ठूलो खैला–बैला भो। जीवन दिने सुसमाचार सुनाएको दाबी गरेर पसलेले आफ्नो बचाउ त गर्यो, तर उसको भित्री आसयलाई कसले बुझोस् त? आखिर हत्याको उद्योग गरेको अभियोगमा जेल हालियो। यता ख्रीष्टियानहरूले सुसमाचारको खातिर जेल हालेको अर्थ लगाए, भने उता गैर–ख्रीष्टियानहरूले अर्कै बुझ्छन्।
शिक्षा: हामीसँग असल नियत त हुनैपर्छ तर त्यतिले मात्र पर्याप्त हुँदैन। कतै हामीले पनि सुसमाचारप्रतिको जोसलाई अज्ञानतामा प्रस्तुत गरिरहेका त छैनौं? ठाउँ, व्यक्ति, तरिका, समय र परिस्थितिलाई नबुझीकन जोस देखाउँदा होस पुर्याइएन भने उल्टै विवादमा पर्नेछौं र पारिनेछौं। यसकारण येशूले भन्नुभयो, ‘‘तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ’’ (मत्ती १०:१६)।
कथा स्रोत: श्रुति

No comments:

Post a Comment